इनिसा विक मृत्यु प्रकरण: वैज्ञानिक तवरले अनुसन्धान सुरु

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १६:२९

सुर्खेत । वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको शङ्कास्पद मृत्यु भएको घटनामा प्रहरीले वैज्ञानिक पद्धतिबाट अनुसन्धान अघि बढाएको छ । बलात्कारपछि हत्या गरिएको भन्दै आफन्त र अधिकारकर्मीले दबाब दिएपछि अनुसन्धानलाई थप विश्वसनीय बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सुर्खेत आइपुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सीआईबीसँगै नेपालगन्जबाट आएको पोलिग्राफ विज्ञको टोली र सीडीआर विश्लेषकहरू समेत अनुसन्धानमा सक्रिय भएका छन् । प्रहरी उपरीक्षक सुधिर राज शाहीले अनुसन्धानको कुनै पनि पाटो नछुटोस् भनेर थप विज्ञहरूको सहयोग लिइएको जानकारी दिए । पक्राउ परेका अभियुक्तहरूले दिइरहेको बयानको सत्यता जाँच्न पोलिग्राफ परीक्षण सुरु गरिएको छ ।

यसअघि नै घटनास्थलको प्रारम्भिक अनुसन्धान सकेको प्रहरीले मोबाइल लगायतका उपकरण फरेन्सिक ल्याबमा पठाइसकेको छ । यस्तै टक्सिकोलोजीकल र बायो–सेरोलोजिकल परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएको र त्यसको रिपोर्ट आएपछि मात्रै प्रहरी ठोस निष्कर्षमा पुग्ने अनुसन्धान अधिकृतहरूले बताए ।

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले गरेको पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हुन सक्ने उल्लेख छ । रिपोर्टअनुसार जबर्जस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गहिरो चोट लाग्दा रक्तश्राव भएको देखिएको छ ।

भिसेरा परीक्षणपछि मात्रै मृत्युको अन्तिम कारण यकिन हुने चिकित्सकको भनाइ छ । प्रहरीले पक्राउ गरेका १६ वर्षीय मुख्य अभियुक्तले इनिसा आफ्नी प्रेमिका भएको र सहमतिमै यौन सम्बन्ध राखेको दाबी गरे पनि अत्यधिक रगत बगेपछि इनिसा बेहोस भएको देखिएको छ ।

घटनास्थलको प्रकृति हेर्दा इनिसालाई करिब साढे दुई मिटर पर तानेर लगेको र सो क्रममा ढाडमा कोतरिएको दागहरू फेला परेका छन् । सीसीटीभी फुटेजमा शनिबार बिहान ६ बजेतिर इनिसा र ती किशोर मात्रै जङ्गलतर्फ गएको देखिएको प्रहरीको दाबी छ ।

अन्य तीन जना किशोरहरू भने घटनापछि अस्पताल लैजान मद्दत माग्दा मात्रै पुगेको प्रारम्भिक बयानमा खुलेको छ । यद्यपि पीडित परिवारले भने सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै आएका छन् ।

इनिसा शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उक्त दिन विद्यालय बन्द रहेको र अघिल्लो रात नै उनीहरूबीच भेट्ने सल्लाह भएको म्यासेन्जर संवादबाट खुलेको छ । वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.