
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र संशोधन गर्ने निर्णय विरुद्धको रिटमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो मुद्दा ‘हेर्दाहेर्दै’ मा रहेकाले आज पुनः बहस हुन लागेको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने विरुद्ध विभिन्न जिल्लामा विचाराधीन रहेका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग हटाएर सहकारी ठगीमा मात्र मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।
७ पृष्ठ लामो उक्त ‘टिप्पणी र आदेश’ मार्फत गम्भीर प्रकृतिका दुई मुद्दा हटाउन दिइएको निर्देशन कानुन विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दायर गरेका थिए।
महान्यायाधिवक्ताको सोही निर्देशनका आधारमा कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोग पत्र संशोधनका लागि निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले त्यहाँको प्रक्रिया अघि बढ्न सकेको छैन।
काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने हालसम्म अभियोग पत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन्। आजको सुनुवाइले महान्यायाधिवक्ताको उक्त निर्देशन कार्यान्वयन हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने देखिएको छ।

























