
काठमाडौं। नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ। निक्षेपकर्ता र संस्थाको हितविपरीत गैरकानुनी तवरले बैंकिङ कसुरमा संलग्न रहेका श्रेष्ठ लामो समयदेखि फरार सूचीमा थिए।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा अनुसन्धान सुरु भएको यस प्रकरणमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै ठूलो जरिवाना र कैद सजाय सुनाएको थियो। सर्वोच्चको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुईवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गर्दै कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो।
६९ वर्षीय श्रेष्ठलाई सीआईबीको टोलीले आइतबार काठमाडौंको नागर्जुन नगरपालिका–५, सीतापाइलाबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
























