
मोरङ। मोरङको हुलाकी सडक खण्ड अन्तर्गत रतुवामाई नगरपालिकाको आमबाडी र सुनवर्षी नगरपालिकाको डायनिया मुख्य बजार क्षेत्रमा सडक निर्माण कार्य अधुरै छाडिएको छ।
नाला र पेटीको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि सडकको मुख्य भागमा कालोपत्रे नगरिँदा बजार क्षेत्र कुरुप बन्नुका साथै आवतजावतमा समस्या भएको छ।
सडक विभागले बजार क्षेत्रका दुवैतर्फ नाला र पेटी निर्माण गरे पनि बीचको ६ मिटर चौडाइमा पिच नगरी अलपत्र छाडेको हो। सडक अलपत्र परेपछि स्थानीयले उक्त खाली ठाउँलाई घरमा प्रयोग हुने ढुङ्गा, गिट्टी र दाउरा राख्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन्।
बजारको मुख्य भागमै सडक निर्माणले पूर्णता नपाउँदा धुलो र हिलोको समस्या त छ नै, यसले दुर्घटनाको जोखिम समेत बढाएको छ।
विकास निर्माणका काममा समन्वय र अनुगमन गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूले यति गम्भीर विषयमा चासो नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
नगरपालिका प्रमुख तथा वडा प्रतिनिधिहरूले आफ्नै नगरभित्रको मुख्य बजारमा सडक अलपत्र पर्दा समेत निर्माण कम्पनी वा सम्बन्धित निकायलाई दबाब दिन नसक्नु गैरजिम्मेवारीपन भएको स्थानीयको बुझाइ छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने हुलाकी सडकको यस्तो अवस्थाले सुशासन र विकासको नारालाई नै गिज्याइरहेको छ। यस विषयमा सम्बन्धित निकाय र जनप्रतिनिधिको समयमै ध्यान जानु जरुरी देखिन्छ।
























