
झापा। सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै झापाको काँकरभिट्टामा सोमबार विरोध प्रदर्शन गरिएको छ। प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पीडित परिवारलाई तत्काल न्याय दिलाउन सरकारसँग माग गरे।
काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट सुरु भएको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो। र्यालीमा मेचीनगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो। सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’ र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मीद्वय राधा प्रधान र पूजा सापकोटा तथा मानवअधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय दिन माग गरे। वक्ताहरूले समाजमा बढ्दै गएका यस्ता जघन्य अपराधका घटनाले असुरक्षा बढाएको भन्दै सुरक्षा निकाय र सरकारलाई गम्भीर हुन आग्रह गरे।
























