फायल फोटो ।धनकुटा । सोमबार साँझ आएको विनाशकारी हावाहुरी र असिनापानीले धनकुटामा लाखौँ रुपैयाँ बराबरको भौतिक तथा कृषि बालीमा क्षति पुर्याएको छ । हावाहुरीका कारण सरकारी कार्यालय, शिक्षण संस्था, निजी घर, गोठ र सडक पूर्वाधारमा ठूलो नोक्सानी भएको छ ।
हावाहुरीले सडकछेउका रुख ढालेपछि सोमबार रातिदेखि अवरुद्ध बनेको कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड मंगलबार बिहानबाट मात्र सञ्चालनमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सडकमा खसेका रुख र अवरोध हटाएपछि यातायात पुन: सुचारु भएको हो ।
लोक सेवा आयोगको कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, प्रदेश संग्रहालय र निजामती विद्यालयका भवनमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ । विवरण आएलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत तथा पुनर्निर्माणबारे आवश्यक निर्णय लिइने उनले बताए ।
हावाहुरीबाट प्रदेश संग्रहालयमा मात्रै करिब २० देखि २२ लाख रुपैयाँ बराबरको क्षति भएको संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । यस्तै, जिल्लाका अधिकांश क्षेत्रमा घरका छाना उडेका छन् भने केही परिवार त्रिपालको सहारामा बस्न बाध्य भएका छन् ।
विद्युततर्फ ३३ केभी प्रसारण लाइनमा रुख ढल्ने र तार चुँडिने समस्या देखिएपछि सोमबार रातिदेखि जिल्लाभर सेवा बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख बिजलीप्रसाद यादवले मंगलबार साँझसम्म कम क्षति भएका क्षेत्रमा विद्युत सुचारु गर्ने प्रयास भइरहेको बताए । प्राधिकरणले चट्याङका कारण मिटर वा वायरिङमा क्षति पुगेको आशंका भएमा तुरुन्त मेन स्विच बन्द गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरतकुमार थापा क्षत्रीले हालसम्म मानवीय क्षति नभएको पुष्टि गरे । प्रहरीले जिल्लाभरका गोठ र कृषि बालीमा भएको क्षतिको थप विवरण संकलन गरिरहेको बताए ।
























