
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको ऐतिहासिक मतको उच्च कदर गर्दै जिम्मेवारीबोधका साथ काम गर्न आग्रह गरेका छन् । मंगलबारदेखि सुरु भएको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न थप अध्ययन आवश्यक रहेको बताए ।
उपसभापति वाग्लेले सांसदहरूलाई संसद्का विषयवस्तु र प्रक्रियाबारे फेरि ‘ब्याक टू कलेज’ को शैलीमा अध्ययनको चरणमा प्रवेश गर्न सुझाव दिए । उनले केही आधारभूत डकुमेन्ट र पार्टीका धारणाहरूबारे गम्भीर भएर अध्ययन गर्न निर्देशन दिएका छन् ।
विशेषगरी निर्वाचनका बेला जनतामाझ लगिएको पार्टीको ‘वाचापत्र’ लाई पटक–पटक अध्ययन गर्न उनले जोड दिए । अबको समय देशमा नयाँ थिति बसाल्ने विषयमा गम्भीर भएर सोच्ने र काम गर्ने बेला आएको भन्दै उनले सबै सांसदहरूलाई सोही अनुसारको तयारी गर्न आग्रह गरे ।
























