
बिर्तामोड । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानका रूपमा आयोजना गरिएको ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । झापा साइक्लिङ क्लबले फागुन ३० देखि चैत २ गतेसम्म आयोजना गरेको तीन दिने साइकल यात्रा १८५ किलोमिटर पार गरेपछि समापन भएको हो ।
क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार यात्रीहरूले झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबारी र बिर्तामोड गरी १२ वटा पालिकाको फन्को लगाएका थिए । कार्यक्रमका सचिव हिमाल खरेलले यात्राले जिल्लाका विभिन्न धार्मिकस्थल, सिमसार र ग्रामीण क्षेत्रलाई समेटेको जानकारी दिए ।
यात्राको पहिलो दिन पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु भई ६० किलोमिटर दूरी पार गर्दै दोमुखामा टुङ्गिएको थियो । दोस्रो दिन दोमुखाबाट सुरु भएको ८० किलोमिटरको यात्रा हुलाकी मार्ग हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानीमा समापन भएको थियो । तेस्रो तथा अन्तिम दिन ४५ किलोमिटर यात्रा गर्दै बनियानीबाट बिर्तामोड पुगेर कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।
कुल ५० जना साइकलयात्री, गाइड र स्वयम्सेवक सहभागी रहेको यस अभियानको मुख्य उद्देश्य झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्नु र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको थियो । पर्यटन कार्यालय काँकरभिट्टा मुख्य प्रवर्तक रहेको यस कार्यक्रमले झापाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई उजागर गरेको आयोजकले जनाएका छन् ।
बिर्तामोडमा आयोजित समापन समारोहमा सहभागी राइडरहरूलाई मेडल प्रदान गरियो । कार्यक्रममा पर्यटन कार्यालयका अधिकृत निरोज कट्टेल, नाट्टा कोशीका महासचिव नविन खरेल लगायतको उपस्थिति रहेको थियो ।
























