
काठमाडौं । देशभर हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण आज (बुधबार) देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई भू–भागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, रातिको समयमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । बागमती र कोशी प्रदेशका केही पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
























