खोटाङको हेलिकोप्टर दुर्घटनाका घाइते र पाइलटलाई लगियो काठमाडौं

Share this
815shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १४:२२

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा बुधबार अवतरणका क्रममा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा घाइते भएकालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

हेलिकोप्टर दुर्घटनामा केपिलासगढी–२ का ५० वर्षीया घाइते काजीबहादुर राई घाइते भएको खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले बताए । उनका अनुसार घाइते काजीबहादुरको अवस्था सामान्य छ ।

हेलिकोप्टरमा क्याप्टेन (चालक) सविन थापासहित ६ जना सवार थिए । १ जना सामान्य घाइते भए पनि अरु सबै जना सकुशल छन् । प्रहरीका अनुसार पाइलट र घाइते भएका काजीबहादुरसहित हेलिकोप्टरमा सम्झना राई, समला राई, बालकुमार राई र डाकमणि राई सवार थिए । उनीहरु केपिलासगढी–२ कै रहेको प्रहरीले जनाएको छ ।

‘दुर्घटनामा परेर सामान्य घाइते भएका काजीबहादुर र चालक सविनलाई अर्को हेलिकोप्टरमार्फत काठमाडौं पठाइसकिएको छ । अन्य ४ जना यतै हुनुहुन्छ । उहाँहरुलाई केही भएको छैन,’ डीएसपी बुढाथोकीले भने । उनका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर भने घटनास्थलमै छ ।

प्रहरीका अनुसार उक्त हेलिकोप्टर पारिवारिक नाता सम्बन्धका व्यक्तिहरुले चार्टर गरेको पाइएएको छ । दुर्घटना हुनसाथ हेलिकोप्टरमा काठमाडौंबाट शव ल्याइएको र फर्किदा बिरामी लैजाने हल्ला चलाइएको थियो । तर, त्यो कुरा सत्य नभएको पाइएको छ ।

‘हेलिकोप्टर चार्टर गरेर पारिवारिक नाता सम्बन्धका व्यक्तिहरु आफन्तको मरिमराउमा आएको पाइएको छ । त्यहाँ शव ल्याइएको थिएन । हेलिकोप्टर बिरामी लिन पनि आएको हैन,’ डीएसपी बुढाथोकीले भने । घाइते र चालकलाई अर्को हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको भए पनि दुर्घटनाग्रस्त हेलिकोप्टर घटनास्थलमै रहेको जानकारी उनले दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि हेलिकप्टरमा रहेका ६ जना नै सकुशल रहेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ः०० बजे उडेको उक्त हेलिकप्टर दिउँसो ११ः५१ बजेतिर अवतरणका क्रममा असन्तुलित भएर पल्टिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हेलिकप्टर बारीमा अवतरण गर्ने क्रममा असन्तुलित भई दुर्घटनामा परेको हो । सुरुमा बारीको डिलमा अवतरण गर्न खोजेको हेलिकोप्टर पुनः उठाएर बीचतिर लैजान खोज्दा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

खोटाङको खार्तम्छामा अवतरणका क्रममा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.