एकछिनमै खरानी भयो मोरङको मुसहर बस्ती

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १५:४०

विराटनगर । अचानकको आगलागीमा जलेर मोरङको बूढीगंगा गाउँपालिका–४ को मुसहर बस्ती खरानी भएको छ । एकैछिनमै बस्ती खरानी भएको हो ।

प्रारम्भिक विवरण अनुसार बुधबार दिउँसो करिब २ बजेतिर आगलागी हुँदा १० वटा घरहरु जलेर पूर्ण रूपमा ध्वस्त भएका छन् । करिब ४५ मिनेटको आगलागीले स्थानीय मुसहर समुदायका परिवारलाई अत्यन्त संकटमा पारेको छ ।

प्रहरीका अनुसार गोकुवा चोकबाट पूर्वतर्फ रहेको बस्तीमा अचानक लागेको आगो तीव्र गतिमा फैलिएको थियो । प्रायः घरहरु फुसको छाना र टाटीबेराले बनेका थिए । आगोले बस्तीका घरहरु चाँडै जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ ।

बस्तीका घरहरूको बनावट कमजोर भएकाले आगो तत्कालन नियन्त्रण गर्न सम्भव नभएको मोरङ प्रहरीका सूचना अधिकारी लीलाराज लामिछानेले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्कीको नेतृत्वमा टोली खटाइएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवालको टोली पनि परिचालन गरिएको थियो ।

विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सक्रिय प्रयासपछि करिब ४५ मिनेटमा आगो नियन्त्रणमा आएको जानकारी लामिछानेले दिए । तर, आगो नियन्त्रणमा आए पनि बस्तीका अधिकांश घर पूर्ण रूपमा नष्ट भइसकेका छन् ।

आगोले घरसँगै लत्ताकपडा, नगद, सुनचाँदी, अन्नपात र दैनिक प्रयोगका सामग्रीहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डीएसपी लामिछानेले क्षतिको विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

आगोले घर खरानी बनाएपछि भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवारहरू अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । बालबालिका, वृद्धवृद्धा र महिलाहरू अत्यन्त त्रासमा रहेका छन् ।

सरोकारवालाहरूले पीडित परिवारलाई राहत, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको माग गर्न थालेका छन् । घटनाले अति विपन्न समुदायको असुरक्षित बसोबास र विपद् व्यवस्थापनको कमजोर तयारीलाई स्पष्ट पारेको छ । समयमै प्रभावकारी राहत र पुनःस्थापनाको व्यवस्था नभए पीडितहरूको अवस्था अझ जटिल बन्दै जाने स्थानीय बताउँछन् ।

प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान थालेको छ । विद्युत सर्ट भएर अर्थात् खानेकुरा पकाउँदा असावधानीका कारण आगलागी भएको वा घटनाको अन्य कुनै कारण पनि हुनसक्ने प्रहरीको भनाइ छ । ‘आगलागी कसरी सुरु भएको भनेर ठ्याक्कै कारण पत्ता लाग्न सकेको छैन,’ लामिछानेले भने ।

घरहरुमा आगो लाग्न सुरु भएपछि घरभित्र रहेका ग्यासका सिलिन्डर विस्फोट भएका थिए । सिलिन्डर विस्फोट हुन थालेपछि आगो झन् तीव्र गतिमा फैलिएको थियो । प्रहरी र स्थानीयले बस्तीको बीचमा रहकेो एउटा घर भत्काएर आगो थप फैलनबाट रोकेका थिए ।

‘आगोले भेट्नै लागेको एउटा घर भत्काएपछि त्यहाँबाट आगो थप फैलिन पाएन । आगलागी र सिलिन्डर विस्फोट भइरहेका बेला ठूलो जोखिम मोलेर त्यति काम गर्न सकियो,’ घटनास्थलमा रहेका एक जना प्रहरीले भने । ती प्रहरीका अनुसार पीडितलाई खाद्यान्न, लत्ताकपडा र अस्थायी बसोबासको आवश्यकता छ ।

मुसहर समुदाय नेपालभित्रै सामाजिक, आर्थिक तथा शैक्षिक हिसाबले निक्कै कमजोर समूहमा पर्छ । भूमिहीन, शिक्षा र स्वास्थ्य सेवामा कमजोर पहुँच, दैनिक ज्यालादारीमा जीवन यापन गर्ने परिवारहरु आगलागीबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

घटनाले उनीहरूको सामाजिक सुरक्षा र जीवनस्तर सुधारको आवश्यकतालाई प्रमाणित गरिएको स्थानीयको भनाइ छ । ४५ मिनेटभित्रै बस्तीका १० वटा घर खरानी भएको घटनाबाट पाठ सिक्दै असुरक्षित बसोबास, कमजोर आपतकालीन तयारी र विपन्न समुदायको जीवनशैलीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवाला बताउँछन् ।

उनीहरुका अनुसार बूढीगंगाको मुसहर बस्तीको आगलागीले ठूलो मानवीय संकट निम्त्याएको छ । आगलागीबाट प्रभावित बनेका परिवारलाई राहत र सुरक्षित आवासको व्यवस्था तत्काल गर्नुपर्ने माग उनीहरुको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.