
काठमाडौं। निर्वाचन सम्पन्न भई देशले नयाँ सरकार पाउने तयारी भइरहँदा नयाँ मन्त्रीहरू कहाँ बस्ने भन्ने विषय अन्योलमा परेको छ। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासमा भएको आगजनी र तोडफोडका कारण २७ मध्ये २६ ब्लक काम नलाग्ने गरी ध्वस्त भएका छन्।
आन्दोलनका क्रममा रक्षामन्त्रीको निवास बाहेक अन्य सबै भवनमा क्षति पुगेको थियो। हाल सोही सुरक्षित भवनमा अन्तरिम सरकारका वनमन्त्री माधवप्रसाद चौलागाईँ बसिरहेका छन् भने अन्य मन्त्रीहरू आफ्नै वा भाडाका घरमा बस्न बाध्य छन्।
करिब ३ अर्ब रुपैयाँको लागतमा निर्मित यो सुविधासम्पन्न परिसर एक वर्षमै खण्डहरमा परिणत भएपछि सहरी विकास मन्त्रालयले नयाँ मन्त्रीहरूका लागि अस्थायी विकल्पको खोजी गरिरहेको छ।
सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले नयाँ मन्त्रिपरिषद्को आकार तय भएपछि मात्र आवासको अन्तिम निर्णय हुने जनाएको छ। कार्यालयका प्रमुख चक्रवती कान्तका अनुसार काठमाडौंमा घर भएका मन्त्रीलाई आफ्नै निवासमा बस्न प्रोत्साहन गर्ने र घर नभएकाहरूका लागि भाडाको घर खोजिदिने योजना छ। यसका लागि मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच समन्वय भइरहेको छ।
ध्वस्त भएका भवनहरूको पुनर्निर्माणका लागि ११ वटा आवासको बोलपत्र आह्वान भई मूल्यांकनको प्रक्रिया सुरु भएको छ भने बाँकी १५ वटा ब्लकका लागि टेन्डर आह्वान गर्ने तयारी छ। यीमध्ये ११ वटा भवन आगामी असारसम्ममा तयार हुने लक्ष्य राखिएको छ। यसअघि पुल्चोकमा रहेका मन्त्री निवासहरूलाई भने हाल न्यायाधीश निवासमा परिणत गरिसकिएको छ।
























