
काठमाडौंं। टीकापुर नरसंहारमा दोषी ठहर भई आममाफी पाएका पूर्वसांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर शारदा बोहरा कडायतले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो।
निवेदिका शारदा सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्। हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला र दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
अदालतको फैसलाअनुसार आममाफी नदिएको भए चौधरी २०९४ सालसम्म जेलमा बस्नुपर्ने थियो। थप १४ वर्ष कैद बाँकी छँदै सरकारले माफी दिएर रिहा गरेपछि चित्त नबुझाई बोहरा पत्नी शारदा कानुनी उपचारका लागि सर्वोच्च पुगेकी हुन्।
नयाँ संविधान जारी हुनुअघि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक बालकसहित आठ जना सुरक्षाकर्मीको बीभत्स हत्या भएको थियो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई रिहा गरिदिएका थिए।
























