
काठमाडौं । मौसममा आएको बदलीसँगै आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा जोखिम निम्तिन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
प्राधिकरणले तीव्र हावाहुरी, वर्षा र हिमपातजस्ता मौसमी जोखिमको सम्भावना देखिएको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको पूर्वानुमान अनुसार शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ ।
यस्तै, लुम्बिनी प्रदेशका तराई क्षेत्र, विशेषगरी दाङ र नेपालगञ्ज आसपासमा तीव्र हावाहुरी चल्ने सम्भावना औंल्याइएको छ । शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका अन्य जिल्लामा समेत झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्न सक्ने प्राधिकरणको चेतावनी छ ।
प्रि–मनसुनको सक्रियता बढेसँगै हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम उच्च रहेको जनाइएको छ । पछिल्ला दिनमा यस्तै घटनाबाट जनधनको क्षति भइसकेको उल्लेख गर्दै प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, हावाहुरी चल्दा घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, सवारीसाधन चलाइरहेका बेला सुरक्षित स्थानमा रोकेर बस्न सुझाव दिएको छ । साथै, कमजोर संरचना, अग्ला रुख तथा विद्युत् पोलमुनि नबस्न, लत्रिएका तार नछुन र विद्युतीय उपकरण प्रयोग नगर्न समेत आग्रह गरिएको छ ।
सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन सके मानवीय तथा भौतिक क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ ।

























