
विराटनगर । झापाको कमल गाउँपालिका–५ स्थित सितापुरी चोकमा गाडी चलाउँदै गरेका चालकको अचानक मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग भएर झापाको बिर्तामोडबाट मोरङको पथरीशनिश्चरेतर्फ आउँदै गरेको प्र १–०४–००१ च ००८० नम्बरको स्कोरपियो गाडीका चालक अचानक बेहोस भएका थिए । बेहोस भएको केही बेरमै स्कोरपियो चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–९ का ४५ वर्षीय योगेश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडी चलाइरहेका बेला शुक्रबार साँझ ६ः३० बजेतिर असहज महसुस गरेका उनी तत्काल बेहोस भएका थिए । सडक किनारमा रोकिएको गाडीका यात्रुहरुले उनलाई बोलाए । तर, कुनै प्रतिक्रिया दिएनन् ।
गाडीकै यात्रुहरुले स्थानीयको सहयोगमा धिमाललाई उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्याएका थिए । धिमाललाई राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । धिमाल किन बेहोस भए र उनको के कारणले मृत्यु भयो भन्ने यकिन भइसकेको छैन ।
इलाका प्रहरी कार्यालय दमकले घटनाको अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धानपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
























