
खोटाङ । हावाहुरीका कारण घरको छाना उडेर बिचल्लीमा परेका परिवारलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जस्तापाता उपलब्ध गराउने भएको छ । नगरपालिकाले हावाहुरीबाट प्रभावित ६० घर परिवारलाई जस्ताको छाना वितरण गर्ने तयारी गरेको हो ।
नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार गत चैत २ गते बेलुकी आएको विनाशकारी हावाहुरीले नगरका विभिन्न वडामा ६० घरको छाना उडाएको थियो ।
क्षति पुगेकामध्ये वडा नम्बर १ बाहुनीडाँडाका १२, वडा नम्बर २ डिकुवाका ४, वडा नम्बर ३ च्यास्मिटारका २८, वडा नम्बर ८ धितुङका ३ र वडा नम्बर ११ राजापानीका ५ गरी ५२ घरको निवेदन दर्ता भइसकेको छ । अन्य ८ घरको पनि निवेदन आउने प्रक्रियामा रहेको गिरीले बताए ।
नगरपालिकाले प्राविधिक मूल्यांकन र लागत अनुमान (इस्टिमेट) का आधारमा प्रत्येक घरलाई आवश्यकता अनुसार जस्तापाता वितरण गर्ने योजना बनाएको छ । तत्कालको राहतका लागि नगरपालिकाले २७ थान त्रिपाल समेत वितरण गरिसकेको छ ।
यी सामग्रीहरू नगरपालिकाको विपद् कोषबाट उपलब्ध गराइने र यस सम्बन्धी निर्णय आगामी चैत ८ गते बस्ने कार्यपालिका बैठकले अनुमोदन गर्ने प्रवक्ता गिरीले जानकारी दिए ।
























