४ दिनदेखि साकेला अन्धकार

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार ११:४५

खोटाङ । खोटाङको साकेला गाउँपालिकामा विगत चार दिनदेखि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । गत चैत २ गते आएको भीषण हावाहुरीले विद्युत्को मुख्य प्रसारण लाइनमा क्षति पुर्‍याएपछि स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।

लिच्किराम्चेको बाघेढुङ्गा सब–स्टेसनदेखि साकेला गाउँपालिकासम्म जोड्ने मुख्य लाइन र विभिन्न शाखा लाइनहरूमा हावाहुरीले व्यापक क्षति पुर्‍याएको छ ।

विद्युत् अवरुद्ध हुँदा गाउँपालिकाका २ हजार ३ सय १८ घरपरिवार प्रभावित भएको साकेला गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख डीएम चाम्लिङले जानकारी दिए । विद्युत् नहुँदा स्थानीयको दैनिक जीवनका साथै सञ्चार र अन्य अनलाइन सेवाहरू समेत प्रभावित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख रामकुमार श्रेष्ठका अनुसार अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत कार्य तीव्र रूपमा भइरहेको छ ।

हावाहुरीले ठूलो क्षेत्रमा क्षति पुर्‍याएकाले मर्मत गर्न केही समय लागेको उनले बताए । प्राधिकरणले प्राविधिक टोली खटाएर जतिसक्दो चाँडो बिजुली बाल्ने प्रयास गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.