बयान फेर्ने सरकारी साक्षीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १३:५८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका टंकबहादुर घर्तीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दैलेखको एक सडक आयोजनाको घुस प्रकरणमा सुरुमा आयोगलाई सहयोग गर्ने शर्तमा सजाय छुट पाएका घर्तीले अदालतमा पुगेर बयान फेरेपछि उनीविरुद्ध नै मुद्दा चलाइएको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० निवासी घर्ती ‘देउतीबज्यै कन्स्ट्रक्सन’ का प्रोप्राइटर हुन् । उनले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया सहज बनाउनका लागि वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीलाई १ लाख रुपैयाँ घुस दिएको अनुसन्धानबाट खुलेको थियो ।

सुरुमा घर्तीले आयोगको अनुसन्धानमा सहयोग गरेको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा मात्र प्रस्तुत गरिएको थियो ।

तर, गत वैशाख २२ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा घर्तीले आयोगमा दिएको बयान र संकलित प्रमाणविपरीत हुने गरी बयान दिएपछि उनीमाथि पुनः अनुसन्धान सुरु गरिएको थियो ।

घर्तीले आफ्नो पूर्ववत् बयानबाट पछि हटेर आरोपितलाई बचाउन खोजेको पुष्टि भएपछि आयोगले उनलाई नै प्रतिवादी कायम गरेको हो । आयोगले घर्तीविरुद्ध १ लाख रुपैयाँ बिगो, कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.