
काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा शिवनारायण मण्डल दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मण्डललाई भ्रष्टाचारी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।
शिवनारायण मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट सन् १९८३ मा माध्यमिक तह उत्तीर्ण गरेको भनी झुटा शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। सोही प्रमाणपत्रका आधारमा उनले २०५३ साउन १ गतेदेखि द्वितीय श्रेणीको ‘सब–ओभरसियर’ पदमा स्थायी नियुक्ति लिएका थिए।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमार्फत उक्त प्रमाणपत्रको आधिकारिकता जाँच गर्दा बिहार विद्यालय परीक्षा समितिले सो रोल नम्बर भएको प्रमाणपत्र अर्कै व्यक्तिको नाममा रहेको जानकारी पठाएको थियो।
मण्डलको नाम अभिलेखमा नदेखिएको जानकारी प्राप्त भएपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो। अदालतमा बयान दिँदा समेत मण्डलले सो प्रतिवेदनको खण्डन गर्न नसकेपछि अदालतले उनलाई दोषी ठहर गरेको हो। झुटा विवरण पेस गरी राज्यलाई ठगी गरेको पुष्टि भएपछि अदालतले जरिवानासहितको फैसला सुनाएको छ।
























