
काठमाडौं। काठमाडौं जिल्ला अदालतले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडमा नष्ट भएका विभिन्न मुद्दाका दसी र जिन्सी सामानहरूको विवरण सार्वजनिक गरेको छ।
शुक्रबार अदालतको जिन्सी फाँटले एक सूचना जारी गर्दै आगलागीबाट पूर्ण रूपमा क्षति भएका सामग्रीहरूको सूची सार्वजनिक गरेको हो। अदालतका अनुसार मुख्य भवनको भुइँतलामा रहेको अभिलेख र जिन्सी शाखामा भएको आगजनीका कारण विभिन्न मुद्दाका मिसिल र दसीका रूपमा दाखिला भएका सामानहरू पूर्ण रूपमा नष्ट भएका थिए।
उक्त घटनापछि क्षतिको मूल्याङ्कन गर्न न्यायाधीश तेज बहादुर खड्काको संयोजकत्वमा गठित समिति र सङ्कट व्यवस्थापनसम्बन्धी अध्ययनका लागि न्यायाधीश टेकप्रसाद ढुंगानाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा सूचना प्रकाशन गरिएको हो।
सर्वोच्च अदालतको सङ्कट व्यवस्थापन निर्देशिका बमोजिम कुन सामान नष्ट भए र कुन सुरक्षित छन् भन्ने अभिलेख राख्ने क्रममा यो विवरण बाहिर ल्याइएको अदालतले जनाएको छ।
अदालतले सार्वजनिक गरेको सूचीमा गम्भीर प्रकृतिका मुद्दाका प्रमाणहरू जलेर नष्ट भएको उल्लेख छ। नष्ट भएका सामानहरूमा नक्कली १ हजार र ५ सय दरका नोट, विभिन्न व्यक्तिहरूका सक्कल राहदानी, नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमति पत्र रहेका छन्।
त्यस्तै, चेकबुक र अन्य वित्तीय कागजात, भिसा कार्ड तथा हवाई टिकटहरू समेत नष्ट भएका छन्। यी सामानहरू खोटा चलन, लागुऔषध, ठगी र राहदानी दुरुपयोग जस्ता मुद्दाहरूसँग सम्बन्धित थिए।
























