
विराटनगर । कोशी प्रदेशमा आज (शनिबार)को सम्भावित मौसमीय विपद्को जोखिमलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ ।
तीव्र हावाहुरी, मेघगर्जनसहित वर्षा, असिना र चट्याङको संयुक्त असर देखिने पूर्वानुमानपछि कोशीमा जनजीवन प्रभावित हुन सक्ने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी प्रदेशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीसहित वर्षा हुने प्रक्षेपण गरेको छ ।
विशेषगरी प्रदेश राजधानी विराटनगर, सुनसरीको धरान र धनकुटा आसपासका क्षेत्रमा बढी प्रभाव पर्ने जनाइएको छ । विभिन्न जिल्ला प्रशासन कार्यालयहरुनागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेका छन् । सूचनामा अनावश्यक रूपमा बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न तथा जोखिमयुक्त संरचनाबाट टाढा रहन आग्रह गरिएको छ ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार प्रदेशका १४ वटै जिल्लामा रहेका प्रहरी इकाइहरूलाई तयारी अवस्थामा राखिएको छ । सम्भावित विपद् सामना गर्न आवश्यक जनशक्ति र उद्धार सामग्री व्यवस्थापन गरिएको जानकारी उनले दिए ।
यातायात क्षेत्रमा समेत सतर्कता बढाइएको छ । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले प्रतिकूल मौसममा चालकहरूलाई सुरक्षित स्थानमा सवारी रोकेर मात्र यात्रा अघि बढाउन आग्रह गरेका छन् ।
यसै सन्दर्भमा शुक्रबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरोकारवाला निकायहरूको बैठक बसेको थियो । बैठकमा विपद् जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि र आवश्यक समन्वयका विषयमा छलफल भएको थियो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मौसमजन्य विपद्लाई ध्यानमा राख्दै सबै निकाय तयारी अवस्थामा रहेको बताएका छन् । मन्त्रालयले प्रतिकार्य योजना तयार पारिसकेको र सोहीअनुसार समन्वयात्मक रूपमा काम हुने उनले बताए ।
उनले नागरिकलाई विशेषगरी खुला स्थान, अग्ला रुख, बिजुलीका पोल तथा टावर नजिक नबस्न र चट्याङबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । ‘समयमै अपनाइएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ,’ मन्त्री पराजुलीले भने, ‘यसमा नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।’
पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा हावाहुरीका कारण क्षति बढ्दै गएको सन्दर्भमा सम्बन्धित निकायहरूले चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन् । शुक्रबार राति समेत मुलुकका विभिन्न स्थानमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा भएको थियो ।
























