
काठमाडौं। ६१ औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस आज (शनिबार) नेपालभर विविध कार्यक्रमका साथ मनाइँदैछ । ‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ भन्ने मूल नाराका साथ विभिन्न संघसंस्थाले दिवस मनाएका हुन् ।
बिहानै काठमाडौँको सडकमा भव्य र्यालीको आयोजना गरिएको थियो, जसमा दलित समुदायका अगुवा र अधिकारकर्मीहरूको उल्लेख्य सहभागिता थियो । राष्ट्रिय दलित आयोगले ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी पहिचान’ विषयक छलफल कार्यक्रम समेत आयोजना गरेको छ ।
दलित समुदायका नेताहरूले अझै पनि नेपालमा जातीय भेदभाव र छुवाछूत कायमै रहेको भन्दै दुःख व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य गणेश विकले इनिषा विक प्रकरणलगायतका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
आज साँझ माइतीघरमण्डलमा दीप प्रज्ज्वलन गरी दिवसको समापन गरिनेछ । यस दिवसले जातीय विभेद उन्मूलनका लागि नयाँ ऊर्जा दिने विश्वास गरिएको छ ।
























