झडपपछि स्थिति तनाव : कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार १६:२२

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका अन्तर्गत बर्गदवा क्षेत्रमा दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। राम नवमीको अवसरमा मन्दिरमा भजन गाइरहेका हिन्दू धर्मावलम्बी र इदको अवसरमा मस्जिदमा नमाज पढिरहेका मुस्लिम समुदायबीच माइकको आवाजको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्षका युवाहरूबीच ढुङ्गा हानाहान भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले कडा कदम चालेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शनिबार दिउँसो २ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधित क्षेत्रभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

झडपका क्रममा ढुङ्गा प्रहार हुँदा ५ जना सामान्य घाइते भएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले निषेधाज्ञा जारी गरेपछि अहिले स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा आइसकेको बताए। दुवै समुदायका अगुवाहरूसँग समन्वय गरी सामाजिक सद्भाव कायम राख्न प्रयास भइरहेको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.