भेडेटार-डाँडाबजार सडकमा पहिरो: मिनी ट्रक बीचमै फस्यो

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ७, शनिबार १८:५९

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ थुम्कीस्थित निर्माणाधीन रवि-भेडेटार सडक खण्डमा शनिबार अपराह्न  पहिरो खसेको छ । अविरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले गर्दा उक्त सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

पहिरो खसिरहेकै बेला भेडेटारबाट डाँडाबजार तर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको खाली मिनी ट्रक पहिरोको बीच भागमा फसेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ बस्ने २२ वर्षीय चालक योगेश गौतमले चलाएको उक्त ट्रक पहिरोको घेरामा परे पनि चालक भने सकुशल रहेका छन् । प्रहरीका अनुसार हालसम्म ट्रकमा कुनै भौतिक क्षति पुगेको छैन, तर सडक माथिबाट निरन्तर लेदोसहितको पहिरो झरिरहेकाले ट्रक निकाल्न र बाटो खुलाउन कठिन भइरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा ५ जनाको टोली कार्यक्षेत्रमा खटिएको छ । भेडेटारबाट करिब ४ किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा फसेको ट्रक निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक दुवैतर्फी अवरुद्ध हुँदा सो भेगका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.