पर्यटन विभागका तत्कालीन निर्देशक यादवविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार ११:५१

काठमाडौं। पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध दायर भएको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु हुँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि आयको तुलनामा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेको अभियोगमा मुद्दा दर्ता गरेको थियो।

आयोगको अभियोगपत्र अनुसार यादवले २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको सेवा अवधिमा २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँभन्दा बढी आय आर्जन गरेको देखिएको छ। यसमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बिमा, हिमाल आरोहण सम्पर्क अधिकृतको पारिश्रमिक, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा तथा सेयर बिक्रीबाट प्राप्त रकम समावेश छन्।

तर सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, सेयर खरिद, शैक्षिक खर्च, जीवन बिमा प्रिमियम र बैंक मौज्दातलगायत शीर्षकमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको पाइएको छ। यसरी कुल आम्दानी र खर्चबीचको करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँको स्रोत नखुलेकाले उनले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

आयोगले गत साउन २९ गते विशेष अदालतमा दर्ता गरेको यस मुद्दामा आज सुनुवाइ हुन लागेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.