
बिर्तामोड। झापाको कनकाई नगरपालिकास्थित ह्याप्पी ल्यान्ड फनपार्कमा शनिबार दिउँसो २ समूहबीच झडप भएको छ। डिजे बजाएर नाच्ने क्रममा सुरु भएको विवाद उग्र बन्दा झडपको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हिजो (शनिबार) दिउँसो करिब ४ बजे भएको उक्त घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा झापा गाउँपालिका–५ का १८ वर्षीय मानारुल आलम, १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख रहेका छन्।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बाह्रदशी–४ का १९ वर्षीय साहिद खान, १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलम छन्।
इद मनाउन फनपार्कमा भेला भएका युवाहरूबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। झडपमा संलग्न दुई समूह हुलाकी मार्गको बिरिङ खोला वारिपारि (झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका) का बासिन्दा हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
























