विश्व मौसम विज्ञान दिवस मनाइँदै

Share this
822shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार ०७:३६

काठमाडौं । विश्वभर विश्व मौसम विज्ञान दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ आज (सोमबार) मनाइँदै छ ।

जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक जोखिम, अनियमित वर्षा, तापक्रममा उतारचढाव र त्यसले मानव जीवनमा पारिरहेको प्रभावका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष मार्च २३ मा मनाउने गरिन्छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) स्थापना गर्ने महासन्धि लागू भएको दिनको सम्झनामा दिवस मनाउन थालिएको हो ।

त्यसयता मौसम, जलवायु र पानीसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउँदै मानव जीवन र सम्पत्तिको सुरक्षा गर्ने प्रयासलाई यो दिवसले निरन्तर स्मरण गराउँदै आएको छ । प्रारम्भिक वर्षहरूमा यो दिवस मुख्यतः जल र त्यसबाट उत्पन्न हुने बाढी, पहिरो र आँधीबेहरीलगायतका प्राकृतिक प्रकोपको व्यवस्थापन र नियन्त्रणमा केन्द्रित थियो ।

तर, पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर तीव्र बन्दै जाँदा यसको दायरा अझ फराकिलो बनेको छ । अहिले यो दिवस मौसम पूर्वानुमानको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरण, कृषि तथा जनस्वास्थ्यसँग सम्बन्धित जलवायु सूचना प्रणालीको विकासलगायत विषयमा केन्द्रित हुन थालेको छ ।

नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा मौसमको भूमिका अझ महत्वपूर्ण मानिन्छ । हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक बनावटका कारण मौसम छिट्टै परिवर्तन हुने गर्दछ । जसले कृषि उत्पादन, जलस्रोत व्यवस्थापन र दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ ।

पछिल्ला वर्षहरूमा असामयिक वर्षा, लामो खडेरी, हिमपातमा कमी तथा अत्यधिक गर्मीका घटनाले जलवायु संकटको संकेत गर्छ । यस सन्दर्भमा विश्व मौसम विज्ञान दिवसले वैज्ञानिक तथ्यमा आधारित मौसम पूर्वानुमान प्रणालीको विकास, सूचनाको समयमै प्रवाह र समुदायस्तरसम्म चेतना विस्तार गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।

विज्ञहरुका अनुसार सही र विश्वसनीय मौसम सूचना उपलब्ध भएमा प्राकृतिक विपद्‌बाट हुने क्षति धेरै हदसम्म कम गर्न सकिन्छ । दिवसको अवसरमा सरकारी निकाय, शैक्षिक संस्था र विभिन्न गैरसरकारी संघसंस्थाहरूले अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम तथा प्रचारप्रसारमार्फत जलवायु सचेतना बढाउने प्रयास गर्छन् ।

दिवसले व्यवहारिक रूपमै वातावरण संरक्षण, दिगो विकास र जलवायु अनुकूलनका उपाय अवलम्बन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.