मोरङको सुन्दरहरैँचामा नालीमा भेटियो युवकको शव

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार ०८:५४

विराटनगर । मोरङको सुन्दरहरैँचामा एक जना युवक मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार अधिकारीको शव सुन्दरहरैँचा–२ हिमाल चोकस्थित नालीमा भेटिएको हो । सडक छेउको नालीमा सोमबार बिहान घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको छ । दाहाल नेतृत्वकै टोलीले घटनाको अनुसन्धान गरिरहेको हो ।

प्रहरीका अनुसार अधिकारीको शव नालीभित्र भेटिएको छ भने घटनास्थलनजिकै एउटा साइकल पनि फेला परेको छ । रातको समयमा साइकल चढेर घर जाने क्रममा उनी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

डीएसपी लामिछानेका अनुसार साइकलमा आफ्नो घरतिर जाने क्रममा नालीमा खसेर मृत्यु भएको हुनसक्छ । ‘नाली निक्कै गहिरो रहेछ । लडेपछि उठ्न नसकेर मृत्यु भएको हुनसक्छ,’ उनले भने । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.