
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ का प्रावधानहरू पालना नगर्ने विभिन्न आठवटा बीमा कम्पनी तथा एउटा ब्रोकर कम्पनीमाथि कारबाही गरेको छ ।
नियामक निकाय कानुनी व्यवस्था उल्लंघन गर्ने प्रवृत्तिविरुद्ध आक्रामक बनेको हो । प्राधिकरणका अनुसार कारबाहीमा पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स तथा एलियन्ट इन्स्योरेन्स ब्रोकर रहेका छन् ।
प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले कारबाहीमा परेका कम्पनीहरूले ऐनले तोकेको निर्देशन र नियामकीय दायित्वहरू पूर्ण रूपमा पालना नगरेको पाइएको बताए । नियामकीय अनुशासन कायम गर्न र बीमा क्षेत्रलाई पारदर्शी तथा जिम्मेवार बनाउने उद्देश्यले कारबाही गरिएको प्राधिकरणको भनाइ छ ।
कारबाहीअन्तर्गत नेपाल पुनर्बीमा कम्पनी का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने प्रकृतिको निर्देशन दिइएको छ । त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकरले नियमविपरीत कार्य गरेको ठहर गर्दै तीन महिनाका लागि उसको कारोबार निलम्बन गरिएको छ ।
अन्य ६ वटा बीमा कम्पनीहरूलाई भने बीमा ऐनअनुसार २–२ लाख रुपैयाँका दरले जरिबाना गरिएको प्राधिकरणले जनाएको छ । यो जरिवाना पहिलोपटकको उल्लंघनका रूपमा तोकिएको हो । नियम उल्लंघन दोहोर्याए थप जरिबाना हुनेछ ।
बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) मा प्राधिकरणले जारी गरेको निर्देशन उल्लंघन गरेमा सम्बन्धित संस्था वा व्यक्तिलाई २ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना गर्न सकिने व्यवस्था छ । सोही ऐनअनुसार पहिलो पटक उल्लंघन गरेमा २ लाख, दोस्रो पटक दोहोर्याएमा २५ लाख र तेस्रो वा सोभन्दा बढी पटक उल्लंघन भएमा प्रत्येक पटक ५० लाख रुपैयाँसम्म जरिबाना हुने प्रावधान रहेको छ ।
प्राधिकरणले पछिल्लो समय बीमा कम्पनीहरूको कार्यसम्पादन, आन्तरिक नियन्त्रण प्रणाली र नियामकीय दायित्व पालनाको अवस्थालाई कडाइका साथ अनुगमन गरिरहेको छ । यस क्रममा नियम उल्लंघन गर्ने संस्थामाथि कारबाही गरिएको हो । कारबाहीले बीमा क्षेत्रमा अनुशासन कायम गर्ने र सेवाग्राहीको हित संरक्षण गर्ने अपेक्षा गरिएको छ ।
























