
खोटाङ । खोटाङका २५ वर्षीय तिलक परियारको भारतको हैदरावादमा सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
रोजगारीको खोजीमा साथीहरूसँग चैत २ गते भारत गएका परियार चैत ६ गते सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको गान्धी अस्पताल सेकन्दरावादमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको आफन्तले जनाएका छन् ।
खोटेहाङ गाउँपालिका–७ भँडारेका परियार होटलमा काम गर्ने उद्देश्यले गाउँकै सन्तोष र कृष्ण परियारसँग हैदरावाद पुगेका थिए । आर्थिक अवस्था कमजोर रहेका उनी निर्वाचन प्रहरीको काम सकेर रोजगारीको खोजीमा भारत गएका थिए । घरका दुईमध्ये कान्छा छोरा परियारका ५ वर्षका एक छोरा छन् ।
उनी भारततर्फ गएको दिन नै घर हावाहुरीले क्षतिग्रस्त बनेको बताइएको छ । शव नेपाल ल्याउन आर्थिक हिसाबले समस्या हुने देखिएको छ । हाल उनको शव अस्पतालमै रहेको छ । पोस्टमार्टम तथा कागजी प्रक्रियाका लागि करिब ६० हजार भारतीय रुपैयाँ आवश्यक पर्ने भएकाले परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
























