
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले गुमराहमा राखेको भन्दै आपत्ति जनाए ।
पौडेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन सम्पन्न गर्ने र उक्त घटनाको निष्पक्ष छानबिन गर्ने रहेकाले प्रतिवेदन सार्वजनिक नगर्दा विभिन्न आशङ्का उब्जिएको बताए । उनले आयोगले गहिराइमा पुगेर छानबिन गरेको विश्वास व्यक्त गर्दै प्रतिवेदनका आधारमा दोषी देखिएका जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे । प्रतिवेदनका विषयमा अनावश्यक अनुमान गर्ने परिस्थिति नबनाउन उनले सरकारलाई आग्रह गरे ।
यसैबीच महामन्त्री पौडेलले भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन र विद्यमान कानुनहरूको संशोधनका लागि नयाँ बन्ने सरकारलाई आफ्नो पार्टीको पूर्ण सहयोग रहने स्पष्ट पारे । उनले लिपुलेक र लिम्पियाधुरा जस्ता राष्ट्रिय महत्वका विषयमा राज्यले कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए ।
























