
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिहरूको काँधमा ठूलो दायित्व सुम्पिएको बताएका छन् । निर्वाचन आयोगले बुधबार आयोग परिसर बहादुर भवनमा आयोजना गरेको जलपान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धि र सुशासनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले निर्वाचनका माध्यमबाट प्राप्त जनमतले स्वतन्त्रता, सामाजिक न्याय र विकासका लागि काम गर्न मार्गनिर्देश गरेको उल्लेख गरे । लोकतन्त्रमा राजनीतिक मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै स्वर हुनुपर्ने उनको भनाइ थियो । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार जनताको जीवनस्तर उकास्न सबै पक्षलाई आह्वान समेत गरे ।
नेपाली नागरिकले निर्वाचनमा देखाएको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको राष्ट्रपतिले बताए । यस पटकको निर्वाचनमा आयोगले मितव्ययिता, पारदर्शिता र हरित निर्वाचनको अवधारणा कार्यान्वयन गरेर अन्तर्राष्ट्रिय जगतमा समेत प्रशंसा बटुल्न सफल भएको उनले चर्चा गरे । उनले निर्वाचन सफल पार्न अहोरात्र खटिने सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद समेत ज्ञापन गरे ।
























