
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा बिहीबार पनि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा बहस नसकिएपछि उक्त मुद्दाको अर्को सुनुवाइ आगामी आइतबार हुने भएको हो।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णय विरुद्ध परेको रिटमाथि सोमबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ। महान्यायाधिवक्ता सविता भण्डारीले विभिन्न जिल्लामा विचाराधीन रहेका लामिछाने विरुद्धका मुद्दाहरू संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। उक्त निर्देशन र अभियोग फिर्ताको प्रक्रिया कानुनविपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।
आइतबारको सुनुवाइमा सरकारी पक्ष र विपक्षीका कानुन व्यवसायीहरूले बाँकी बहस गर्नेछन्। भोलि रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी भइरहँदा पार्टी सभापति लामिछानेको यो कानुनी प्रक्रियालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
























