संवैधानिक ‘कोर्स’ ट्रयाकमा : धारा ७६ (१) पहिलो पटक प्रयोग

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १२:००

काठमाडौं । नेपालको संविधान जारी भएको १० वर्षपछि पहिलो पटक धारा ७६ (१) बमोजिम एकल बहुमतको सरकार गठन हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ बहुमत हासिल गरेपछि यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन लागेको हो।

संविधानको धारा ७६ (१) मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने प्रावधान छ। २०७२ मा संविधान जारी भएयताका निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याउँदा यसअघि धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलिजुली सरकार बन्ने गरेको थियो। तर, शुक्रबार रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त गर्दैछन्।

नवनियुक्त ३६ वर्षीय शाहले आज दिउँसो १२:३४ बजेको शुभ साइतमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। नेपालको इतिहासमा कम उमेरमा प्रधानमन्त्री हुने उनी दोस्रो व्यक्ति हुन्। यसअघि पञ्चायत कालमा डा. तुलसी गिरी ३३ वर्षकै उमेरमा प्रधानमन्त्री भएका थिए भने २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि शाह सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका छन्। रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई बिहीबार नै सर्वसम्मत रूपमा दलको नेता चयन गरिसकेको छ।

शाहको नेतृत्वमा सरकार गठन भएसँगै बिथोलिएको संवैधानिक प्रक्रिया पुनः लयमा फर्कने विश्वास गरिएको छ। भदौ २३ र २४ गते भएको ‘जेन्जी’ आन्दोलनका कारण संवैधानिक कोर्स केही समयका लागि ट्रयाक बाहिर पुगेको थियो। आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। संविधानले पूर्वप्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्न र पूर्वन्यायाधीशलाई मन्त्री बन्न रोक लगाए पनि तत्कालीन विशिष्ट परिस्थितिका कारण सो व्यवस्था उल्लङ्घन भएको थियो।

त्यस्तै, प्रतिनिधि सभा विघटन हुन नसक्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको व्याख्या विपरीत आन्दोलनको दबाबमा भदौ २७ गते संसद विघटन गरिएको थियो। फागुन २१ को निर्वाचन र नयाँ बहुमतको सरकार गठनसँगै मुलुकको राजनीति र संवैधानिक प्रक्रिया पुनः विधिसम्मत ढङ्गले अघि बढ्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.