
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित १५ सदस्यीय मन्त्रिमण्डलमा उच्च शैक्षिक योग्यता भएका व्यक्तिहरूको बाहुल्यता देखिएको छ। शुक्रबार सार्वजनिक विवरण अनुसार मन्त्रिमण्डलमा योग्यता र समावेशितालाई विशेष प्राथमिकता दिइएको छ।
नवनियुक्त मन्त्रीहरूमध्ये दुई जनाले विद्यावारिधि (PhD) गरेका छन् भने १० जनाले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। तीन जनाले स्नातक तहसम्मको अध्ययन पूरा गर्दा एक जनाको शैक्षिक योग्यता उच्च माध्यमिक तह सरह रहेको पाइएको छ। प्रधानमन्त्री बालेन शाह स्वयंले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
दोस्रो वरीयताका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट विद्यावारिधि गरेका छन्। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले अस्ट्रेलियाको ग्रिफित विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेका छन्। भौतिक पूर्वाधार र सहरी विकास मन्त्री सुनिल लम्साल काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले अमेरिकाको युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले नर्सिङमा र श्रम मन्त्री दीपक साहले बेलायतको लन्डन स्कुल अफ हाइजिनबाट स्नातकोत्तर गरेका छन्। कानुन मन्त्री सोबिता गौतम र कृषि मन्त्री गीता चौधरी दुवैले कानुनमा स्नातकोत्तर गरेका छन् भने प्रतिभा रावल र सीता वादीको योग्यता पनि स्नातकोत्तर नै रहेको छ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्री सस्मित पोखरेलले स्नातक तह उत्तीर्ण गरेका छन्। पर्यटन मन्त्री गनेश पौडेलले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेको जनाइएको छ। मन्त्रिमण्डलमा तेस्रो वरीयताका गृहमन्त्री सुधन गुरुङको योग्यता भने उच्च माध्यमिक स्तर (ए लेभल) रहेको छ।
यो मन्त्रिमण्डललाई शैक्षिक रूपमा हालसम्मकै सबल टोलीका रूपमा हेरिएको छ।
























