ओली पक्राउको विरोधमा झापामा प्रदर्शन

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १६:००

बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा झापाका एमाले कार्यकर्ता सडकमा उत्रिएका छन्। बालेन शाह नेतृत्वको सरकारले ‘प्रतिशोधपूर्ण’ कदम चालेको भन्दै एमालेका जनसङ्गठनहरूले शनिबार बिर्तामोडको मुक्तिचोकमा विरोध प्रदर्शन गरेका हुन्।

पार्टी कार्यालयबाट निकालिएको विरोध र्‍याली मुक्तिचोक पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले ओलीको ‘गैरकानुनी’ पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन्। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे पूर्वाग्रही प्रतिवेदन तयार पारेर लोकतान्त्रिक शक्तिमाथि धरपकड गरिएको एमालेको ठहर छ।

कोणसभालाई सम्बोधन गर्दै एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले वर्तमान सरकार विदेशीको इसारामा बनेको आरोप लगाउँदै तत्काल गल्ती सच्याउन चेतावनी दिए। उनले सरकारलाई नियम कानुनअनुसार चल्न र दुई तिहाइको दम्भ नदेखाउन सुझाव दिए। ‘विभिन्न सडक आन्दोलनबाट मुलुकमा परिवर्तन ल्याएको एमालेसँग प्रतिशोध साँध्ने काम भए त्यो सरकारका लागि महँगो पर्नेछ’ ढुङ्गेलले भने।

एमाले नेताहरूले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभए सडकबाटै सत्ताच्युत गरिदिने चेतावनी समेत दिएका छन्। केन्द्रको निर्देशन बमोजिम एमालेले झापामा निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.