
काठमाडौं । बालेन्द्र (बालेन) शाह नेतृत्वको नवनियुक्त सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर आपत्ति जनाएकी छन्। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको यो कदमलाई ‘प्रतिशोधपूर्ण’ र ‘लोकतान्त्रिक मूल्य मान्यता विपरीत’ को संज्ञा दिएकी हुन्।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा गरिएको यो गिरफ्तारी विधिको शासनमाथि प्रहार भएको पूर्वराष्ट्रपतिको ठम्याइ छ। उनले उक्त प्रतिवेदन आफैँमा पूर्ण नभएको र विभिन्न अध्ययनहरूले यसमा त्रुटि देखाएको अवस्थामा हतारमा निर्णय गरिनुले सरकारको मनसायमाथि प्रश्न उठाएको उल्लेख गरेकी छन्।
विशेष गरी भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलन सम्बन्धी घटनालाई आधार बनाएर चालिएको यो कदमले मुलुकमा पुनः द्वन्द्व र अस्थिरता निम्त्याउने जोखिम बढेको भन्दै भण्डारीले चिन्ता व्यक्त गरेकी छन्। उनले कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा पर्याप्त अध्ययन, संस्थागत परामर्श र विधिसम्मत प्रक्रिया अपनाउनुपर्नेमा जोड दिँदै वर्तमान सरकारको निर्णयलाई ‘अपरिपक्व’ दाबी गरेकी छन्।
सुशासनको नारा दिएर गठन भएको नयाँ सरकारले सुरुवातमै संवैधानिक मर्यादा र स्थापित लोकतान्त्रिक अभ्यासलाई कुल्चिएको आरोप लगाउँदै उनले यो निर्णयमा तत्काल पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन्। मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि सरकारलाई संयमित हुन र कानुनी प्रक्रिया पुर्याएर मात्र अघि बढ्न उनले सचेत गराएकी छन्।
























