
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अनुमति मागेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले अनुसन्धानका लागि समय आवश्यक पर्ने भन्दै १० दिनको म्याद माग गरी दुवै जनालाई अदालतमा पेस गरिएको बताए।
ओली र लेखकको म्याद थपका विषयमा अहिले जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ। स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई भिडियो कन्फरेन्सका माध्यमबाट इजलासमा उपस्थित गराइएको छ भने लेखकलाई भौतिक रूपमै अदालत पुऱ्याइएको छ।
अदालतमा पेस भएको म्याद थपको निवेदनमाथि अहिले दुवै पक्षका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। सरकारी वकिल र प्रतिवादीका तर्फबाट बहस सकिएपछि इजलासले म्याद थप गर्ने वा नगर्ने भन्नेबारे निर्णय दिनेछ।
प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको घटनामा उनीहरूको संलग्नताबारे विस्तृत सोधपुछ र प्रमाण संकलनका लागि समय माग गरेको हो।
























