रवि लामिछानेको अर्को तारेख वैशाख १४ गतेलाई तय

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १४:०२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेको सहकारी ठगी मुद्दामा अर्को तारेख वैशाख १४ गतेका लागि तोकिएको छ। काठमाडौँ जिल्ला अदालत पुगेर आइतबार लामिछानेले तारेख बुझेका हुन्।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछाने अदालत उपस्थित भएका थिए। उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका थिए। सोही आधारमा गत पुस २१ गते संगठित रूपमा सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर भएको थियो।

लामिछानेमाथि कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेको आरोप छ। सरकारी वकिलले उनीसँग सोही रकम बराबरको बिगो माग दाबी गरेका छन्।

चितवन–२ बाट निर्वाचित सांसद लामिछाने हाल थुनाबाहिरै रहेर मुद्दा लडिरहेका छन्। अदालतले आगामी वैशाख १४ गतेका लागि नयाँ तारेख तोकेसँगै यो प्रकरणको कानुनी प्रक्रिया थप अघि बढेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.