
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार प्रहरीलाई अनुसन्धानका लागि अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले उनीहरूलाई १० दिन हिरासतमा राख्न माग गरे पनि अदालतले प्रारम्भिक रूपमा ५ दिनको मात्रै अनुमति दिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरीले शनिबार दुवै जनालाई पक्राउ गरेको थियो ।
आइतबार अदालतमा लेखक स्वयं उपस्थित भएका थिए भने ओली भने स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत इजलासमा जोडिएका थिए । अब प्राप्त म्यादभित्र प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन, बयान र अनुसन्धान प्रक्रिया अघि बढाउनेछ । ओली र लेखक पक्राउ परेपछि नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।
























