
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा यस मुद्दाको पेसी तोकिएको छ।
युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि रिट दायर गरेका थिए। लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै उनले सर्वोच्चको ढोका ढकढक्याएका हुन्। यसअघि सर्वोच्चले यस मुद्दामा तीन पटकसम्म फाइल मगाउने निर्णय गरिसकेको छ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए। सोही निर्णयका विरुद्ध पौडेलले रिट दिएका हुन्। रिटमा लामिछानेले अमेरिकी नागरिक छँदै नेपाली नागरिक हुँ भनी राहदानी लिनु राहदानी ऐन विपरीतको कसुर भएको जिकिर गरिएको छ।
पौडेलले लामिछानेको राहदानी प्राप्त गर्ने कार्यमा आपराधिक मनसाय नरहेको भनी महान्यायाधिवक्ताले क्षेत्राधिकार बाहिर गएर निष्कर्ष निकालेको दाबी गरेका छन्। उनले लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउनुपर्ने माग समेत गरेका छन्।
अदालतले महान्यायाधिवक्ता कार्यालयसँग मुद्दा नचलाउने निर्णयको कारण माग गरेपछि आज दुवै पक्षबीच दोहोरो सुनुवाइ हुन लागेको हो। निवेदकले मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेशको माग गरे पनि यसअघि सर्वोच्चले त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो।
























