
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निभाएको बताएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणका क्रममा उनले प्रहरीलाई आगामी दिनमा अझ निर्धक्क भएर काम गर्न निर्देशन दिए।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले प्रहरीको व्यावसायिकताको प्रशंसा गर्दै आफ्नो भूमिका निर्वाह गर्ने सिलसिलामा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गरे। उनलाई मुख्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको चर्चा गर्दै गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्नेमा जोड दिए। उनले शिष्ट बोली र व्यवहारका साथ नागरिकका समस्या सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्न निर्देशन दिए। आम नागरिकसँगको सम्बन्ध सुमधुर बनाउँदै उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्न पनि उनले आग्रह गरे।
गृहमन्त्रीले प्रहरीको मनोबल उच्च राख्न सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठको पनि सहभागिता थियो।
























