मेरिल्यान्ड कलेजकाे वार्षिकोत्सवमा विद्यार्थी र शिक्षक सम्मानित 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १६, सोमबार १८:०२
मेरिल्यान्ड कलेजले वार्षिकोत्सवमा विद्यार्थी र शिक्षक सम्मानित 

विराटनगर । विराटनगरको मेरिल्यान्ड कलेजले २१ औँ वार्षिकोत्सवको अवसरमा  विद्यार्थी र शिक्षकलाई सम्मान र पुरस्कृत गरेको छ ।

कलेजमा आयोजित कार्यक्रममा बीच बोर्ड परीक्षा, आन्तरिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

Advertisement

शैक्षिक सत्र २०८२ को कक्षा १२ को परीक्षामा ३.९६ जीपीए  ल्याएर नेपाल प्रथम भएका रीतिमा कठेत र राजीवकुमार यादवलाई जनही नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको छ । कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार विभिन्न विधामा उत्कृष्ट हुने करिब २५० जना विद्यार्थीलाई कुल ५ लाख रुपैयाँभन्दा बढीको पुरस्कार वितरण गरिएको छ ।

त्यसैगरी, कलेजले  ‘रेगुलारिटी अवार्ड’ (नियमितता पुरस्कार), अनुशासित विद्यार्थीहरूलाई ‘डिसिप्लिन’ अवार्ड र कक्षा ११ को विज्ञान तथा व्यवस्थापन संकायको प्रवेश परीक्षामा उत्कृष्ट हुने नव आगन्तुक विद्यार्थीलाई पनि सम्मान गरेको छ ।

शिक्षकहरूको योगदानको कदर गर्दै कलेजले एक दिन पनि बिदा नलिई नियमित अध्यापन गराउने ८ जना शिक्षकलाई एक महिनाको थप तलब बराबरको रकमसहित पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुने शिक्षकमा टंक कोइराला, यादव प्रधान, गणेश दाहाल, प्रमोद मण्डल, ईश्वरी गौतम, चिरञ्जीवी कोइराला, दिलीप शर्मा र आलमगीर रैन छन् ।

यस्तै, कलेजमा १५ वर्षदेखि निरन्तर सेवा गरिरहेका ५ जना शिक्षकलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ । सम्मानित हुनेमा पंकजकुमार जैन, टंकनाथ कोइराला, सीता भट्टराई, विनोदकुमार मण्डल र दिलीपकुमार सरदार छन् ।

विद्यार्थी तथा शिक्षकलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाल, निर्देशकहरू प्रा.डा. पीके झा, डा. मनोज गुप्ता, भेषराज पोखरेल, नन्दकिशोर अग्रवाल, प्रदीप भगत, डा. शिवनारायण यादव र जयराज राजवंशीले पुरस्कार तथा प्रशंसा पत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै कलेजका निर्देशक भेषराज पोखरेलले मेरिल्यान्ड कलेज दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रूपमा स्थापित भएको र यहाँबाट उत्पादित जनशक्तिले विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेको बताए ।

यस्तै, प्रिन्सिपल ढकालले गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरणकै कारण मेरिल्यान्ड अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल भएको उल्लेख गरे । हाल कलेजमा १८ सय ३७ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । मेरिल्यान्ड कलेज व्यवस्थापन र विज्ञान संकायकमा पढाइ हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.