
काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १९ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान भएपछि त्यसको पूर्वतयारीका लागि दलहरूको बैठक बोलाइएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने बताए। राष्ट्रपति पौडेलले सोमबार मात्रै गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि आह्वान गरेका हुन्। आजको बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुनमन्त्रीलाई बोलाउने तयारी रहे पनि यसबारे औपचारिक टुंगो लाग्न बाँकी छ।
नयाँ निर्वाचित प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ। बैठकमा अधिवेशनको कार्यसूची, सिट व्यवस्थापन र अन्य प्राविधिक तयारीबारे छलफल हुने सचिवालयले जनाएको छ।
























