
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष दीपक जोशीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।
उनले प्रधानमन्त्री बालेन शाहलाई विशेष स्मरण गराउने उद्देश्यले उक्त नक्सा राखेको बताए । आफू दार्चुलाबासी भएकाले पनि लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको भावनालाई राज्यले सम्बोधन गर्नुपर्ने उनको धारणा छ ।
अध्यक्ष जोशीले सुदूरपश्चिमका विकट क्षेत्रमा अझै सडक सञ्जाल नपुगेकाले विकासका काममा सरकारको ध्यान जाओस् भन्ने हेतुले यो कदम चालेको स्पष्ट पारे ।
लिपुलेक र लिम्पियाधुरा नेपालकै भएकोमा कुनै द्विविधा नभए पनि त्यहाँका जनताले भावनात्मक रूपमा राज्यको उपस्थिति महसुस गर्न पाउनुपर्ने उनले बताए ।
जोशीले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्साका साथै प्रधानमन्त्री बालेन शाहको तस्बिर समेत राखेका छन् । यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहँदा बालेन शाहले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर चर्चा कमाएका थिए ।
























