
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालबीच सीमा सुरक्षा र विपद् व्यवस्थापनका विषयमा विशेष छलफल भएको छ ।
गृहमन्त्री गुरुङ मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेर सुरक्षा निकायको वर्तमान अवस्था र आगामी रणनीतिका बारेमा जानकारी लिएका हुन् ।
छलफलका क्रममा उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी नियन्त्रण गर्न सीमा गस्तीलाई थप कडा बनाउन निर्देशन दिए ।
सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरू सहभागी रहेको उक्त बैठकमा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीबारे पनि विस्तृत विमर्श भयो ।
विपद् व्यवस्थापनमा अपनाउनुपर्ने रणनीति, स्रोत साधनको समुचित व्यवस्थापन र विभिन्न निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको सशस्त्रका अधिकृतहरूले बताए ।
गृहमन्त्रीको सचिवालयका अनुसार संगठनभित्रको सुधार र सेवा प्रवाहलाई थप चुस्त बनाउने विषयमा समेत छलफल भएको छ ।
























