काठमाडौंका पूर्वसीडीओ हाजिरजमानीमा रिहा

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार १९:५७

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (पूर्वसीडीओ) छवि रिजाल हाजिरजमानीमा रिहा भएका छन् ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा मंगलबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको थियो । आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको आरोपमा उनीमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

सिफारिसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनलाई हाजिरजमानीमा छाड्ने निर्णय लिएको हो ।

प्रहरीका अनुसार उनीमाथिको अनुसन्धान प्रक्रिया भने जारी रहनेछ । आवश्यक परेमा उनलाई पुनः बोलाइने प्रहरीले जनाएको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । उक्त आन्दोलनका क्रममा भएको बल प्रयोग र त्यस सम्बन्धी आदेशका बारेमा आयोगले विस्तृत छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

हाल रिजाल रिहा भए पनि घटनासँग सम्बन्धित कानुनी प्रक्रिया भने अगाडि बढिरहेको प्रहरी स्रोतले जनाएको छ । थप अनुसन्धान र उनको बयानका आधारमा आगामी कदम तय गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.