
काठमाडौं । देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा आज (बुधबार) वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव कायमै रहेको छ । जसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागको मौसममा सामान्यदेखि पूर्ण बदलीको रहेको छ । ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातसमेत भइरहेको महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने पहाडी र तराई भू–भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति भने मौसम क्रमशः सुधार हुँदै जाने अपेक्षा गरिएको छ । अधिकांश पहाडी र तराई क्षेत्रमा मौसम सफा रहनेछ भने कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । मौसममा आएको परिवर्तनका कारण केही स्थानमा चट्याङ र वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।
























