
काठमाडौं । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’ (यात्रा सम्बन्धी सुझाव) को जोखिम स्तर घटाएको छ। बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सुरक्षा स्थितिमा सुधार आएको भन्दै अमेरिकी सरकारले मंगलबार नयाँ सूचना जारी गरी जोखिम स्तरलाई ‘लेभल २’ (अतिरिक्त सतर्कता अपनाउनुपर्ने अवस्था) मा झारेको हो।
सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा वातावरण स्थिर रहेको अद्यावधिक एड्भाइजरीमा उल्लेख छ। यद्यपि, सहरी क्षेत्रहरूमा पूर्वसूचना विना नै अचानक प्रदर्शन वा स्थानीय अशान्ति हुन सक्ने र ती हिंसात्मक बन्न सक्ने सम्भावना कायमै रहेको भन्दै अमेरिकी नागरिकलाई सचेत गराइएको छ। यस्ता जोखिमबाट बच्न भिडभाडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिइएको छ।
स्वास्थ्य सेवाका विषयमा एड्भाइजरीले नेपालको आपतकालीन चिकित्सा सेवा सीमित क्षमताको रहेको औंल्याएको छ। काठमाडौंका अस्पतालहरू तुलनात्मक रूपमा राम्रा भए पनि त्यहाँ बिरामीको चाप बढी हुने र आवश्यक उपकरण वा औषधिको अभाव हुन सक्ने बताइएको छ। साथै, उपचारअघि नै अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था र विदेशीको उपचार खर्च नेपाल सरकारले नब्यहोर्ने भएकाले आवश्यक औषधि आफैँ बोक्न र ‘मेडिकल इभ्याकुएसन’ (हवाई उद्धार) समेटिएको स्वास्थ्य बिमा गर्न अमेरिकाले जोड दिएको छ।
प्राकृतिक प्रकोपका सन्दर्भमा नेपालमा भूकम्प, बाढी र पहिरोको नियमित जोखिम रहेको भन्दै सतर्क रहन भनिएको छ। विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुनयाममा भारी वर्षाले सडक अवरुद्ध हुन सक्ने र उद्धारमा कठिनाइ हुन सक्ने चेतावनी दिइएको छ। नेपाल भ्रमणमा रहेका वा जान चाहने नागरिकलाई अमेरिकी दूतावासको ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम’ मा दर्ता हुन र स्थानीय सञ्चारमाध्यमका समाचारमा अद्यावधिक रहन समेत आग्रह गरिएको छ।
























