
काठमाडौं । नेकपा (एमाले) ले गत निर्वाचनमा पार्टीले व्यहोरेको हारको विश्लेषण गरेको छ । घट्दो जनमतको मुख्य कारण नयाँ पुस्ता, जेनजीको उदय र उनीहरूको बदलिँदो मनोविज्ञान भएको निष्कर्ष एमालेको छ ।
बुधबार बसेको जनसंगठनको बैठकमा महासचिव शंकर पोखरेलले समकालीन राजनीतिमा नयाँ पुस्ताको प्रभावले शक्ति सन्तुलन फेरिएको बताए। उनले पार्टी पराजयका २० वटा मुख्य कारणहरू औँल्याउँदै नयाँ पुस्ताले विचारधारा र इतिहासभन्दा पनि कामको नतिजा र पारदर्शितालाई प्राथमिकता दिएको उल्लेख गरे।
नयाँ पुस्ता पार्टीप्रतिको बफादारिताभन्दा पनि डेलिभरी र उत्तरदायित्वको खोजीमा रहेको प्रतिवेदनमा जनाइएको छ। लामो समय शासन सत्तामा रहे पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा ठोस सुधार नदेखिँदा युवाहरू विकल्पतर्फ आकर्षित भएको एमालेको ठम्याइ छ।
बैठकमा प्रस्तुत प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङजस्ता नयाँ शक्तिहरूको उदयले परम्परागत राजनीतिक संरचनामा ठूलो चुनौती थपेको उल्लेख छ। यसैगरी, अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई नयाँ पुस्ताले राजनीतिक स्वार्थ र अस्थिरताको रूपमा बुझ्नुले पनि नकारात्मक असर पारेको एमालेले स्वीकार गरेको छ। पार्टीको आन्तरिक एकता कमजोर देखिनु र स्थिरताको विश्वास दिलाउन नसक्नुलाई पनि हारको कारक मानिएको छ।
प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिटमा मात्रै चित्त बुझाउनुपरेको थियो। पार्टीले अब नयाँ पुस्ताको चाहना र आधुनिक राजनीतिको बदलिँदो परिवेशलाई ध्यानमा राखेर आफ्ना रणनीतिहरू परिमार्जन गर्नुपर्नेमा जोड दिएको छ। विशेषगरी सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत युवा पुस्तामाझ पुग्ने नयाँ कार्ययोजना बनाउनुपर्ने महासचिव पोखरेलले बताए।
























